को होला प्रहरीको नयाँ आइजीपी ?

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४३ पटक पढिएको

काठमाडौं । नेपाल प्रहरीमा यही २० वैशाखबाट नयाँ नेतृत्व आउदै छ । आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल १९ वैशाखमा सकिने भएकाले त्यस अगाडि नै सरकारले नयाँ आइजीपीको टुंगो लगाउने निश्चितप्रायः छ ।

भावी आइजीपीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी हुन् । तीनैजना एउटै ब्याचका हुन् । चारैजनाले आफूभन्दा अघिल्ला ब्याचका प्रहरी अधिकृतहरुलाई उछिनेर डिआइजी बनेका थिए । एआइजी बन्दा पनि अघिल्ला ब्याचका डिआइजीहरुलाई पनि उछिनेका थिए ।

सबैभन्दा पहिले विश्वराज पोखरेल, त्यसपछि सहकुल थापा एआइजीमा बढुवा भए । पछिल्लोपटक धीरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भए । चारैजना एआइजीको दरबन्दी बढाएर बढुवा भएका हुन् । यसअघि तीन एआइजीको दरबन्दी भएकोमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एउटा एआइजीको दरबन्दी बढाएर विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । पोखरेल आइजीपीका लागि प्रतिष्पर्धाविहिन मानिएका थिए । तर, ओलीकै पालामा एआइजीको अर्को दरबन्दी सृजना गरी सहकुल थापालाई बढुवा गरिएको थियो ।

पोखरेल र थापाबीच आइजीपीको प्रतिष्पर्धा हुने देखिएको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआइजीको दरबन्दी थपेर धीरजप्रताप सिंह, रवीन्द्र धानुकका अलावा आइजीपी शैलेश थापाका ब्याची वसन्त पन्तलाई बढुवा गरिएको थियो । त्यसपछि सिंह र धानुक पनि प्रतिष्पर्धामा देखिए । हालका एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्त १९ वैशाखमा नै सेवानिवृत्त हुनेछन् । उनीहरु पछि वरियतामा रहेका चारजना एआइजीहरुबीच आइजीपीको दौड तिव्र भइसकेको छ ।

 

विश्वराज पोखरेल

नेपाल प्रहरीको आइजीपीका प्रतिष्पर्धी विश्वराज पोखरेल सेलिब्रिटी प्रहरीका रुपमा परिचित छन् । उनले डिआइजी बन्दा आफ्नो मात्र नभई अघिल्लो ब्याची प्रहरी अधिकृतहरुलाई पनि उछिनेर आइजीपीको मुख्य प्रतिष्पर्धीका रुपमा उभ्याएका थिए । त्यसपछि एआइजी बन्दा पनि दरबन्दी नै सृजना गरेर अगाडि बढ्न सकेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पोखरेल एआईजीमा बढुवा भएका थिए । पुर्व स्थायी घर भएका पाखरेललाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग निकट मानिन्छ  ।

एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौंमा बसेका पोखरेलले महत्वपूर्ण ठाउँमा कमाण्ड सम्हालेका थिए ।

 

सहकुल थापा

नेपाल प्रहरीमा सालिन प्रहरी अधिकृतका रुपमा परिचित सहकुल थापाको स्थायी घर भक्तपुर हो । 

अपराध अनुसन्धान महाशाखामा रहेर चर्चामा आउने कार्यहरु गरेका थिए । डिआइजी हुँदा सीआइबीमा बसेका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू र आफ्ना ब्याचीका प्रतिष्पर्धीलाई उछिनेर अगाडि बढ्न सके । डिआइजी बढुवामा पनि उनले छलाङ मारे ।

एआइजीको दरबन्दी नै खडा गरेर उनलाई बढुवा गरिएको थियो । त्यसपछि आइजीपीमा विश्वराज पोखरेलका लागि उनी नै चुनौती बन्न सके । थापाले विगतमा जिल्ला प्रहरी कार्यालय चितवनमा बसेर पनि काम गरेका थिए । उनी आइजीपीको दौडमा सक्रिय देखिएका छन् ।

 

धीरजप्रताप सिंह

सुदूरपश्चिम बझाङ स्थायी घर भएका धीरजप्रताप सिंह आइजीपीका मुख्य प्रतिष्पर्धी देखिएका छन् । उनी गत वर्षको चैत्रमा मात्र बढुवा भएका हुन् । एआइजीको तीनवटा दरबन्दी थपेर उनलाई बढुवा गरिएको हो ।

एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हालेका उनले त्यहाँ चर्चामा आउने कामहरु गरका थिए । यद्यपी १२ बर्षे जनयुद्ध कालमा तात्कालीन विद्रोही पक्ष माओवादीका नाममा आम सर्वसाधारणहरु माथि अमानवीय व्यवहार तथा कैयौनलाई बेपत्ता पारेको आरोप समेत उनीमाथि लागेको थियो। सोही विषयलाई लिएर उनी कारवाहीमा समेत परेका थिए ।

डिआइजी बढुवापछि सिंहले प्रदेश नम्बर २ को कमाण्ड सम्हालेका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले सीआइबीको कमाण्ड सम्हालेका थिए  एआइजी बढुवापछि पनि सिंह सीआइबीकै निर्देशक छन् । सरकारले सीआइबीमा डिआइजीको कमाण्ड रहने व्यवस्था गरेकोमा एआइजीको दरबन्दी बढाएपछि एआइजीको कमाण्ड रहने व्यवस्था गरेबाट उनी त्यहाँ रहेका हुन् । धीरज प्रताप सिंह सुदूरपश्चिमकै र प्रधानमन्त्री देउवा पनि सुदूरपश्चिमको हुनुका नाताले पनि राजनितीक रुपमा सरकारको साथ रहेको देखिन्छ । 

 

रवीन्द्र धानुक

रवीन्द्र धानुक पनि सुदूरपश्चिमकै स्थायी बासिन्दा हुन् । प्रहरीभित्र कडा स्वभावका अधिकृतका रुपमा उनको परिचय छ । आफ्नो ब्याचका एआइजीमध्ये उनी चौंथो वरियतामा छन् । धानुक हालै तीन एआइजीको दरबन्दी थपिएर भएको बढुवामा तेस्रो नम्बरमा परेका हुन् ।धानुक वर्तमान अर्थमन्त्री जर्नादन शर्मानिकट मानिन्छन् । उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निकटता छ ।

धानुकले महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर दुवैको कमाण्ड सम्हालेका छन् । डिआइजी हुँदा प्रदेशको कमाण्ड समेत सम्हालेका धानुक पनि आइजीपीको दौडमा छन् । तर, उनी चौंथो नम्बरमा भएकाले सजिलो छैन । तैपनि, उनले आशा मारेका छैनन् ।

चार एआइजी मध्येबाट एकजना आइजीपी बन्ने निश्चित नै छ । वरियतामा पहिलो रहेकाले विश्वराज पोखरेलको दाबी देखिएको छ । प्रहरी बढुवासम्बन्धी नियमावलीमा वरिष्ठतासँगै कार्यक्षमता पनि उल्लेख छ । वरिष्ठताका आधारमा मात्र नभई कार्यक्षमताका आधारमा पनि बढुवा गरिएको विगतको अभ्यास छ । यसकारण पनि पोखरेललाई चुनौती बढेको छ । त्यसमाथि विगतमा आफ्नो ब्याचीका एक्ला एआइजी उनलाई तीनवटा प्रतिष्पर्धी थपिएको छ ।

प्रधानमन्त्री देउवाले धीरजप्रताप सिंहलाई एआइजीको दरबन्दी बढाएर बढुवा गराउनुले भने पोखरेल र थापा दुवैमाथि चुनौती थपिदिएको छ । सिंहले बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको चर्चा पनि चलेको छ । वरियतामा तीन नम्बरमा रहेपनि सिंहले हालै राष्ट्रपतिबाट पदक प्राप्त गरेबाट कार्यक्षमता मूल्यांकनमा छलाङ मार्न सक्ने बुझिएको छ । आइजीपीको प्रतिष्पर्धा तिव्र बन्दै जाँदा पोखरेल, थापा र सिंहको दौड पनि बढेको बुझिएको छ । अब हुने आइजीपी चुनावमा पनि प्रहरीको कमाण्डमा हुने हुँदा देउवाले निकै चासो लिएको बुझिएको छ। 

जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था प्रहरी नियमावलीमा गरिएको छ ।

नियमावलीमा जेष्ठतालाई अगाडि राखिएपनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् । विगतमा नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए । वरियतामा पछाडि रहेका प्रहरीहरुले बाजी मारेको इतिहासहरु धेरै छन् । देउवा प्रधानमन्त्री हुँदा त्यस्ता धेरै घटनाहरु भएका थिए । 

 
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित