रुसी कम्पनीद्वारा बुधवारदेखि पोल्यान्ड र बल्गेरियामा ग्यास आपूर्ति रोकिने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०७ पटक पढिएको
रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बल्गेरियालाई बुधवारदेखि प्राकृतिक ग्यासको डेलिभरी स्थगित गर्ने भएको छ । पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने जनाएको छ ।

बल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ । रुसले "मित्रवत् व्यवहार नगर्ने" देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि यस्तो अवस्था उत्पन्न भएको हो । दुवै देशले त्यसरी भुक्तानी गर्न अस्वीकार गरेका छन् ।
यसैबीच पोल्यान्डका उप-विदेशमन्त्री मार्चिन सिड्याचले उनको देशले रुसबाट हुने ग्यास निर्यात सीमित हुनसक्ने सम्भावनाका लागि तयार रहन आपूर्तिमा विविधीकरणको तयारी गरिरहेको बताएका छन् । सिड्याचले बीबीसीसँग अहिलेको अवस्थासँग आफूहरू जुझ्न सक्ने अवस्थामा रहेको बताए ।
त्यस्तै रुस कुनै पनि व्यापारका लागि भरपर्दो साझेदार नभएको भन्दै उनले जर्मनीलाई पनि रुसी ऊर्जा आयातमा लगाइने प्रतिबन्धमा साथ दिन आग्रह गरेका छन् । बीबीसी