"निर्वाचन आयोगको कमिकमजोरीले वैशाख ३० गतेको चुनाव संचालन गर्न एकदमै कठिनाई भईरहेको छ" : अधिकृत श्रेष्ठ
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९३ पटक पढिएको
अहिले देशमा स्थानीय तह निर्वाचनको माहोल जताततै छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि राजनीतिक दलका प्रतिनिधि र कतिपय स्वतन्त्र व्यक्तिले धमाधम उम्मेदवारी दर्ता गरेर चुनावी प्रचारप्रसारको अभियानमा लागिसकेका छन् । तिनै नारा, सपना र आश्वासन बोकेर यतिबेला प्रत्यासी जनप्रतिनिधि आम मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

यसैबीच निर्वाचन आयोगका कार्यकर्ताहरुलाई भने निर्वाचन संचालन गर्न कठिन भईरहेको छ । २०७९ साल वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले कुनै पनि तयारी नगरी एकदम छोटो समयमा सामान्य ढंगले निर्वाचनको तयारी गरेको निर्वाचन आयोगका अधिकृत प्रेम कुमार श्रेष्ठले बताएका छन् । निर्वाचन आयोगले आवश्यक जनशक्ति पूर्वाधारहरु केहि पनि तयारी नगरेको र आवश्यक डकुमेन्ट तथा मनोनयन पत्रसमेत समयमा उपलब्ध नगराएको उनले बताए ।
अधिकृत श्रेष्ठले कर्मचारी व्यवस्थापनदेखि हरेक कुराहरु यो निर्वाचनको तोकिएको सिमित तालिकामा निर्वाचन संचालन गर्न एकदम कठिन भईरहेको समेत बताए। उनले सम्बन्धित निकायलाई यस विषयमा ध्यान दिन आग्रह समेत गरेका छन् । "निर्वाचन आयोगको कमिकमजोरीले गर्दा हामीलाई अहिले वैशाख ३० गतेको चुनाव संचालन गर्न एकदमै कठिनाई भईरहेको छ " उनि भन्छन् ।
अधिकृत श्रेष्ठले वर्ल्ड दैनिकसँग भएको कुराकानीमा निर्वाचन आयोगले सुधारका लागि गर्नुपर्ने कुरामा समेत जोड दिएका छन् । "निर्वाचन हुन्छ भनेर नेपाल सरकारले जुन मितिमा निर्णय गर्छ त्यसबेला देखिनै मतदान केन्द्रको अवस्था के छ भनेर बुझ्नु पर्यो" उनि भन्छन् । "कतिपय ठाउंमा विद्यालयमा केन्द्र भन्या छ तर त्यहाँ बिद्यालय नै छैन पहिरोले बगाइसकेको छ, चौर भन्या छ चौर नै छैन " त्यस्तो अवस्थामा राम्रोसंग निरिक्षण तथा अरु कुनै बिकल्प हुनु पर्छ।" उनले निर्वाचन अधिकृतको कार्यालय कहाँ खोल्ने भनेर समेत हामीले खोज्दै हिड्नु पर्छ भन्दै आफ्नो दुखेसो पोखेका छन् ।
"मतदाता नामावली सफ्टवेरमा राखिएको छ हामीले हेर्नु पर्दा हाडकपि नै हेर्न पर्छ र यिनै कुराहरुले गर्दा काममा ढिला सुस्ती हुन्छ" उनले भने । साथै उनले आज हैन अब हुने निर्वाचनमा पनि यस्तै किसिमको तालिका र व्यवस्थापन हुने हो भने सधै यो प्रक्रिया दोहोरिने दाबी गरेका छन् ।