श्रम मन्त्रालयको तालिम प्रतिष्ठान बनाउने तयारी सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३०८ पटक पढिएको
दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने निर्णय कार्यन्वयन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रुपमा विकास गरिने तयारी अघि बढाएको बताएका छन् ।
प्रतिष्ठानमा आयोजना गरिएको छलफल कार्यक्रममा एक दर्जन बढी सरकारी निकायले उस्तै प्रकारको तालिम कार्यक्रम संचालन गरे पनि परिणाममुखी नभएकोले गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको तालिम प्रदान गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि तयारी अघि बढिसकेको मन्त्री श्रेष्ठले बताएका छन् । उनले प्रतिष्ठानको स्तरोन्नती गरी सीप परीक्षण तथा प्रमाणीकरणको व्यवस्था समेत गरिने बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाउनुपर्ने तथा प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनिय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।