अमेरिकी अभिनेता विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिए
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४१ पटक पढिएको
अमेरिकी अभिनेता विल स्मिथले ओस्कर्स एकेडेमीबाट राजीनामा दिएका छन्। गत आइतवार आयोजित ओस्कर्स पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेपछि अभिनेता विल स्मिथ चरम विवादमा तानिएका थिए।
"एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो," उनको विज्ञप्तिमा भनिएको छ। एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम "अगाडि बढाइरहने" बताएको छ। एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए।
"मैले चोट पुर्याएकाहरूको सूची लामो छ। यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्," स्मिथले शुक्रवार भने। एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए। रोयटर्सबाट