संक्रामक रोग टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४२ पटक पढिएको
सरकारले चैत २५ गते देखि बैशाख १८ गते सम्म १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका लागि टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।
खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा हुनेछ र सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । यो खोप निशुल्क पाइने र सुरक्षित रहेको छ भने मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह समेत गरेको छ ।
टाइफाइड सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाईएकाले उक्त खोप अभियान सञ्चालन गर्न लागिएको हो । यस अभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने मन्त्रालयले जनाकारी दिएको छ ।