क्लब भवन निर्माणको विषयमा झडप हुँदा सांसद प्रमोद साह घाइते
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११६ पटक पढिएको
सर्लाही क्षेत्र नं १ का संघीय सांसद प्रमोद साहको क्लब भवन निर्माणको विषयमा झडप हुँदा टाउकोमा गम्भीर चोट लागेको छ । इश्वरपुर नगरपालिका–६ बयलवास बजारमा शनिबार क्लब भवन निर्माण गर्न दिने र नदिने समूहबीच विवाद भएपछि झडप भएको हो । झडपका क्रममा दुई पक्षका स्थानीयवासीबीच ढुंगा हानाहान भएको थियो ।

प्रहरीका अनुसार घाइते सांसदको वायलवासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
केही दिनयता वायलवासमा रहेको फुलजोर बाबा युथ क्लबको जग्गा र भवन निर्माणलाई लिएर स्थानीय युवाबीच विवाद बढ्दै गएको थियो । पाँच दशकअघि स्थापना भएको क्लबको भवन सडक निर्माणका क्रममा भत्काइएको नागरिकको आरोप छ ।
बिहान सांसद साह घटनास्थलमा पुगेपछि झडप भएको इलाका प्रहरी कार्यालय केशवरगन्जले जनाएको छ । यस अवसरमा एक पक्षले बाँकी जग्गामा सडक छुट्याएर क्लब भवन निर्माण गर्न खोजेको थियो भने अर्कोतर्फ क्लब भवन निर्माणमा अवरोध गर्दै आएको थियो । यही विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको हो ।