कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३३ पटक पढिएको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार भएको सम्झौता पश्चात कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा .डम्बर खड्काले हस्ताक्षर गरेका छन् ।

चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले जानकारी दिएका छन् । प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता भएको जनाइएको छ । कर्णालीको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले उक्त सेवा दिने भएपछि त्यहाँ नागरिकहरुले आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा व्यक्त गरेका छन् ।