कोभिड परीक्षणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह; मन्त्री लामा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७७ पटक पढिएको
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने बताउँदै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गरेका छन्। उनले दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले कोरोनासँगै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गरेका हुन् ।
पछिल्लो समयमा क्षयरोग नेपालमा घातक बन्दै गएको र क्षयरोग सातौं घातक रोगको रुपमा रहेको उनले बताएका छन् ।नेपालमा दशकौंं पछि क्षयरोगका कारण मृत्युदर सन् २०२० मा बढ्दै गएको तथ्याङ्क समेत रहेको उनको भनाई छ ।
उनले क्षयरोग सम्बन्धि विज्ञप्ति जारी गर्दै क्षयरोग सक्रिय नरहे तापनि निष्क्रिय रहेको हुन सक्ने भएकोले नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ जना व्यक्तिलाई भविष्यमा क्षयरोग सक्रिय हुन सक्ने देखिएको चिकित्सकको भनाई रहेको उल्लेख गरेका छन्। ‘विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाबारे पत्ता लाग्ने गर्दछ । त्यसैले लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने, अस्वभाविक रुपमा शरीरको वजन घट्ने, फोक्सोमा पिडा महशुस हुने, ज्वरो आउने जस्ता लक्षण देखिएमा परीक्षण गर्न अनुरोध गर्न चाहन्छ । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एच.आई.भी, मगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीहरुलाई छिटो लाग्न सक्ने गरेको छ ।’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।