तत्काल तदर्थ समिति गठनको माग गर्दै सानेपामा अनशन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०७ पटक पढिएको
नेपाली कांग्रेसको भ्रातृ संगठनको तदर्थ समिति गठनमा भएको ढिलासुस्तीबारे शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तत्काल तदर्थ समिति गठनको माग गर्दै सानेपामा अनशनमा बसेका कार्यकर्ताहरु माझ पुगेर यस्तो बताएका हुन् ।
अनशनमा सहभागी विजय महतोका अनुसार महामन्त्री थापाले केन्द्रीय समितिसँग छलफल गरेर निर्णय लिने बताए । ‘यसबारे केन्द्रीय समितिमा छलफल गर्छौँ र केन्द्रीय समितिमा छलफल गरेर सबैको राय लिएर अगाडि बढ्छौँ,’ थापालाई उद्धृत गर्दै महतोले नयाँ पत्रिकालाई भने ।
नेविसंघ संघर्ष समितिले सोमबारदेखि सानेपामा अनशन जारी राखेको छ । कार्यकाल सकिए पनि कांग्रेसले भ्रातृ संगठनमा तदर्थ समिति गठन गरेको छैन । केन्द्रीय कार्यसमितिको बैठक फागुन ३ गते बसेको थियो । बैठकले केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको थियो ।
बैठकले फागुन मसान्तमा विघटित भ्रातृ संगठनको तदर्थ समिति गठन गरी अध्यक्ष शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको थियो। तर, संगठनमा धेरै उम्मेदवार रहेकाले देउवाले समयमै तदर्थ समिति बनाउन सकेका थिएनन्।