बाल यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३१ पटक पढिएको
चितवन माडी नगरपालिका–१ को सोमेश्वर माविका शिक्षक सुरज लामिछानेलाई बाल यौन दुर्व्यवहारको आरोपमा चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले शिक्षक लामिछानेलाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा आइतबार नियन्त्रणमा लिएको पुष्टि गरे ।
लेखा विषय पढाउने ३७ वर्षीय शिक्षक लामिछानेले कक्षा ९ मा पढ्ने एक छात्रालाई गृहकार्यको विषयमा बुझ्दा अपाच्य शब्द बोलेको भन्दै प्रहरीमा उजुरी परेको थियो । ‘कक्षाकोठामा छात्रालाई दोहोरो अर्थ लाग्ने, आपत्तिजनक र नकारात्मक शब्दले गाली गरेको भन्ने कुरा विद्यालय प्रशासनमा आयो । यो फागुन २९ गतेको घटना हो,’ विद्यालयका निमित्त प्रधानाध्यापक प्रेमलाल विश्वकर्माले भने ।
शुक्रबार इलाका प्रहरी कार्यालय माडीमा उजुरी परेपछि आइतबार शिक्षक र उनका परिवार तथा आफन्त, विद्यार्थी र उनका अभिभावक, केही राजनीतिक नेता–कार्यकर्ता र जनप्रतिनिधि भेला भएका थिए । भेलामा शिक्षक लामिछानेले आफ्नो चरित्र हत्या हुने गरेर गलत हल्ला चलाएको बताए ।
‘मैले जुन कक्षामा पढाइ रहेको थिएँ, त्यो साह्रै नै कमजोर कक्षा हो । त्यसलाई माथि ल्याउन मिहिनेत गरेको थिएँ । विद्यार्थीकै हितका लागि मैले मनमा बिझ्ने केही वाक्य बोलेको हुँला तर अरू अर्थ लाग्ने केही भनेकै छैन, केही गरेकै छैन,’ शिक्षक लामिछानेको दाबी रहेको छ ।