भारतमा कोभिड-१९ को दैनिक संक्रमण दिन प्रतिदिन घट्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २२१ पटक पढिएको
भारतमा कोभिड-१९ को दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ ।
यद्यपी आइबार मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या भने २५ हजार १०६ पुगेको अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ३१ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यो सँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६७ हजार ७७४ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्।