जिल्ला अदालतका न्यायाधीश दुर्घटनामा परि भेन्टिलेटरमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९४ पटक पढिएको
आइतबार दिउँसो काठमाडौंबाट सिराहा जाँदै गरेका सिराहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया चढेको गाडी दुर्घटनामा परेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ मा दुर्घटनामा परेर घाइते भएका न्यायाधीशको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारनाथको वीरेन्द्रबजारमा न्यायाधीशहरु चढेको बा २ झ ३९३२ नम्बरको सरकारी कार र ना.१ ज ६५०७ नम्बरको वींगर ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै दुवै न्यायाधीशलाई जनकपुरस्थित काव्या अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। मध्यान्ह ३ बजे न्यायाधीश उप्रेती र ५ बजे थपलियालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।
दुवैजनाको अहिले मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताए । ओभरटेक गर्ने क्रममा न्यायाधीशहरु सवार कार वींगरसँग ठोक्किएको थियो । वींगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।