काठमाडौंको फोहोर उठाउन ढिला सुस्ती

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२४ पटक पढिएको

उन्नाइस दिन बितिसक्दा पनि काठमाडौंको फोहोर उठाउन सकेको छैन । तीन पिप्लेका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै १२ दिनदेखि सडक अवरुद्ध गरेका थिए । फागुन अन्तिम साता सिसडोल र बञ्चरेडाँडाका स्थानीयले एक सातादेखि फोहोर फाल्न बन्द गरेका थिए ।

झण्डै तीन सातादेखि काठमाडौं उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । नियमित रुपमा पूरा क्षमतामा फोहोर उठाए पनि संकलन गर्न करिब दुई साता लाग्ने महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा करिब दुई सय सवारी साधनले फोहोर ओसारपसार गर्ने गरेको छ । उनका अनुसार नियमबमोजिम फोहोर उठाउन बाधा नपर्ने हो भने एक–दुई साताभित्र उपत्यकाको फोहोर सिसडोलमा फाल्न सकिन्छ ।

हाल उपत्यकामा १५ देखि २० हजार टन फोहोर थुप्रिएको छ । तर, ल्यान्डफिल साइटमा दैनिक करिब १,००० टन फोहोर मात्र ढुवानी गर्न सम्भव छ।

उपत्यका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ । बारम्बार अवरोधका कारण फोहोर सङ्कलन चक्र नियमित हुन अझै केही महिना लाग्ने महानगरका अधिकारीहरुले बताएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित