‘महाकुम्भ’ नामक चक्र सम्पन्न
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४३ पटक पढिएको
शुक्रबार मध्याह्न मिथिलामा १५ दिने ‘महाकुम्भ’ नामक चक्र सम्पन्न भएको छ । नेपालको सबैभन्दा लामो पदयात्राका रुपमा रहेको मिथिलाको मध्यभागमा नेपालका ११ धार्मिकस्थल र भारतका चार धार्मिकस्थलको भ्रमण गरी तीर्थयात्रा सम्पन्न भएको छ । १५ दिने यात्रामा लाखौं भक्तजनले भगवान् रामको डोलासँगै जनकपुरधामको यात्रा गरेका छन् ।

फागुन १९ गते धनुषाको थेरकचुरीस्थित मिथिला विहारी मठबाट अवध विहारी (श्रीराम)को डोलामा शुभयात्रा शुरु भएको थियो । जात्रासँगै उनीहरुले सियाराघव शरण मठबाट जानकी आमाको डोलाको दर्शन समेत गरेका छन् ।
भगवान रामजानकीको डोलासहित मिथिलाको मध्यभागमा रहेका धार्मिकस्थलको परिक्रमा गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र मोक्ष प्राप्त हुने जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपछि विवाह समारोह हेर्न नपाउने मिथिलावासीले विदाईपूर्व मिथिलाको मध्यवर्ती क्षेत्रमा भगवान श्रीराम जानकीको दर्शन गरेका थिए ।
सोही सम्झनामा परापूर्वकालदेखि हरेक वर्ष मिथिलाञ्चलमा परिक्रमायात्रा निकाल्दै आएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशनदास वैष्णवका अनुसार १५ दिनदेखि नेपाल र भारतका लाखौं भक्तजन खाद्यवस्तु र लत्ताकपडा लिएर चहलपहल गरिरहेका छन् । उनले भने, ‘पन्ध्र दिन पैदल हिँड्दा स्वास्थ्य लाभका साथै धार्मिक लाभका साथ परिक्रमामा सहभागी हुनु स्वस्थकर हुन्छ ।