१ लाख म्यादी प्रहरीको माग गर्दै दरखास्त आह्वान

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४९ पटक पढिएको

सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको माग गर्दै दरखास्त आह्वान गरिसकेको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो तर माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ भने म्यादीको कार्यावधि ४० दिन तोकिएको छ ।

म्यादीको तलब नेपाल प्रहरीको जवान सरह हुनेछ । उनीहरूको आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ भने ४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ जम्मा गरिने छ ।  यस्तै खाद्यान्न बापत ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार थप भत्ता उपलब्ध गराइने भएको छ । यसबाहेक निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने जाने तयारी स्वरूप १ हजार तयारी खर्च उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकास्थित महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर परिसरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने मापदण्ड बनाइएको छ । आवेदन दिने व्यक्ति कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुर नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएको छ । 

म्यादी प्रहरी हुन चाहनेले चैत १३ गते आवेदन माग गरिएका सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्नेछ भने छनौट प्रक्रिया चैत १५, अन्तिम नतिजा चैत २२ र प्रशिक्षण सुरु चैत २८ देखि हुनेछ । न्युज कारखाना

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित