बर्डफ्लु तीव्र रुपमा फैलिँदै: काभ्रेमा नमूना सङ्कलन र अनुगमन
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३९ पटक पढिएको
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलनलाई निरन्तरता दिइएको छ । सूर्यविनायकको तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि थालिएको छ।
यसैबीच सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन र यससम्बन्धी विविध गतिविधि गर्न जिल्लास्तरीय प्राविधिक समितिको बैठकले आग्रह गरेको छ । “सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने ।
काठमाडौँ र भक्तपुर जिल्लामा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सीमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको उनले बताए।
साथै, केन्द्रका प्रमुख राजकुमार हुमागाईंले सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको समेत बताएका छन्।