माहोल बनाउन मंगलबार कांग्रेसद्वारा गाउँगाउँ पुग्ने अभियान घोषणा
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७० पटक पढिएको
स्थानीय तह निर्वाचनको माहोल बनाउन मंगलबार कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ । नेपाली काँग्रेसले एक महिने स्थानीय निर्वाचन केन्द्रीत अभियान देशभर चलाउने भएको छ ।
अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । आगामी फागुन २९ देखि चैत २९ सम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालनका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय नेताहरुलाई प्रशिक्षण दिएका छन् ।
यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादेुर देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न कांग्रेस नेताहरूलाई निर्देशन समेत दिएका छन् । कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन् ।
“निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,” उनले प्रतिनिधिहरूलाई निर्देशन दिँदै भनेका छन्, “तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।” उनले यसो भनेर निर्वाचनमा पनि गठबन्धन कायम रहने संकेत समेत दिएका छन्।