राष्ट्रिय सभाको निर्वाचन हुँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६९ पटक पढिएको
आज राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । आयोगको कार्यतालिकाअनुसार आज दिउँसो तीन बजेसम्म निर्वाचन हुँदै छ ।
१९ पदका लागि सातै प्रदेशमा चुनाब हुँदै छ र चुनाबको नतिजा पनि आजै आउनेगरी काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रदेश १ को विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र संरक्षक संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेसका लागि महेन्द्रनारायण निधि भवनमा मतदान भइरहेको छ ।
त्यसैगरी बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अडिटोरियम र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । त्यस्तै लुम्बिनी प्रदेशका लागि कर्मचारी भेला केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदान भइरहेको छ ।
राष्ट्रियसभा निर्वाचनमा २ हजार २५ मतदाताले मतदान गर्नेछन् । प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् ।
१९ सदस्यीय राष्ट्रिय सभाका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सत्तारुढ पाँच दलको गठबन्धनले सबै सिटमा चुनावी तालमेल गरेको छ भने मधेसमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले समन्वय गरेका छन् ।
गठबन्धनका १९ सिटमध्ये नेकपा माओवादी केन्द्र र नेकपा ५ ५ जना , कांग्रेसले ६, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा उम्मेदवारी दिएको छ ।