वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १७३ पटक पढिएको
जनकपुरलाई मधेसको राजधानी बनाएपछि वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगन्जमा बसेको चार राजनीतिक दलको संयुक्त बैठकले वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले वीरगन्ज महानगरपालिका सचिव सुन्दर कुर्मी, एमाओवादी महानगर अध्यक्ष मनोज चौधरी, सचिव व्रजलाल पासवान, नेपाली कांग्रेस महानगरपालिका अध्यक्ष भोला कलवार, एलएसपी नेता राजेशमान सिंह र मुकेश द्विवेदीसँगको बैठकले वीरगन्जलाई राजधानी बनाउन संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको हो ।
बैठकमा वीरगन्जलाई प्रदेशको राजधानी बनाउन विभिन्न आन्दोलनका कार्यक्रम गर्ने र साँझ ५ बजे घण्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाउने निर्णय भएको लोसपाका नेता सुजित गिरीले जानकारी दिए ।
जनकपुरलाई राजधानी बनाउने प्रस्ताव सोमबार पारित भएसँगै पर्सामा मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाइएको छ । सोमबारको प्रदेशसभामा भएको मतदानले जनकपुरलाई प्रदेश राजधानी तोकेपछि राउतको पुतलाको मंगलबार पोखरिया बजारमा दाहसंस्कार गरिएको हो । पोखरिया नगरपालिकाको नेतृत्वमा रहेको नेकपा एमालेले ‘मुख्यमन्त्री लालबाबु चाहिएको छैन, हाम्रो वीरगन्ज कुर्सीले बेच्न सकिँदैन’, जस्ता नारा लगाएईको थियो ।