श्रीलंकाको राजस्व खुम्चियो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६६ पटक पढिएको
वित्तीय तथा मानवीय संकट गहिरिँदै गएपछि श्रीलंकाको मुद्रास्फीति हालसम्मकै उच्च तहमा पुगेको छ ।खाद्यान्नको मूल्य अकासिएको छ भने सरकारी कोष रित्तिएको छ ।
द गार्जियनका अनुसार कोभिडपीडितका लागि सरकारले ल्याएको कर कटौती नीतिका कारण राजस्व निकै खुम्चिएको छ । चीनलाई चुक्ता गर्नुपर्ने ऋण थुप्रिएको छ भने विदेशी मुद्रा सञ्चिति दशकयताकै कम पुगेको छ । गतवर्षको महामारीको प्रभावसँगै पर्यटन क्षेत्र धराशायी बनेको छ ।
कोभिड–१९ को संक्रमण फैलिएयता श्रीलंकामा ५ लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि पुगेका विश्व बैंकले अनुमान गरेको छ । ५ वर्ष लामो गरिबीविरुद्धको मिहिनेतपछि श्रीलंका त्यतिका संख्याका नागरिकको जीवनस्तर उकास्न सफल भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार श्रीलंकाको मुद्रास्फीति दर गत नोभेम्बरमा हालसम्मकै उच्च अर्थात् ११.१ प्रतिशत पुगेको थियो ।
राष्ट्रपति गोटाभया राजापाक्ष नेतृत्वको सरकारले कोभिड–१९ को महामारीका कारण पछिल्लो संकटको घोषण पनि गरेका थिए । राजापाक्षले श्रीलंकामा आर्थिक संकट घोषणा गरेपछि अत्यावश्यक सामग्रीको व्यवस्था गर्न सेनालाई भनिएको छ । चामल, चिनीलगायतका सामग्री सरकारले तोकेको मूल्यमा बिक्री गरिएको छ तर यसले नागरिकको दुःख कम गर्नेमा निकै कम आशा देखिएको छ ।
पछिल्ला दिनमा श्रीलंकाको राहदानी कार्यालयमा दैनिक निकै लामो लाइन लाग्ने गरेको स्थानीय अखबारहरूले जनाएका छन् । पढेलेखेका युवा वर्गका प्रत्येक ४ जनामध्ये १ जनाले देश छोड्न चाहेका जनाइएको छ ।
समाचार अनुसार श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनको मात्र श्रीलंकामाथि ५ अर्ब डलरभन्दा बढी ऋण छ ।