साताको तेस्रो दिन ६३ अंकले बढ्यो नेप्से
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५९ पटक पढिएको
साताको तेस्रो दिन पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । मंगलबार नेप्से ६३.०१ अंकले बढेर २६७९.९५ मा कायम भएको छ ।
परिसूचक ६३ अंकले बढे पनि उत्पादनमूलक र अन्य समूहमा भने गिरावट आएको छ । कारोबार रकममा पनि सोमबारको भन्दा कम आएको छ । मंगलबार कुल ९१ लाख १० हजार ७५८ कित्ता किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा कारोबार भएको छ ।
राष्ट्र बैंकले स्थानीय तहको ८० प्रतिशत बजेटलाई बैकिङ तरलतामा गणना गर्न वाणिज्य बैङ्कहरूलाई स्वीकृति दिएसँगै बजारमा तरलता अभावको संकट सुधारिन थालेको अनुमान हुन थालेको छ ।
यस्तै, विदेशबाट भित्रिने सामानको आयातमा समेत राष्ट्र बैंकले कडाइ गरेको छ । केन्द्रीय बैंकको यी दुई वटा निर्णयले सेयर बजार सुधारिन थालेको हो ।
मंगलबार धेरै शेयर मुल्य बढ्नेमा श्रीफाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंक छन् । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
मंगलबार धेरै घट्नेहरुमा डिबेञ्चरहरु देखिएका छन् । कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आईसीएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन् ।