दक्षिण कोरियाली नागरिक सिमा पार गरेर उत्तर कोरियामा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १८५ पटक पढिएको

 

एक जना दक्षिण कोरियाली नागरिकले उत्तर कोरियासँगको सीमा पार गरेका छन् । सधैँ उच्च सुरक्षा रहने  व्यवस्थाबीच उक्त नागरिकले सीमा पार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले महामारीको समयमा विना अनुमित सीमा पार गर्नेहरूलाई देख्नासाथ गोली हान्ने नीति लिएको बताइएको छ । पूर्वी तटीय बिन्दुको दुई कोरियाबीच सीमा छुट्टाउने असैनिकीकृत (दशगजा) क्षेत्रमा ती व्यक्ति शनिवार स्थानीय समयानुसार राति नौ बजेर २० मिनेटमा देखा परेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन्  ।

दक्षिण कोरियाली सैनिकहरूलाई समेत देश छोडेर भाग्न खोजेको ठानिएका ती व्यक्तिलाई खोजिरहेका कैयौँ घण्टासम्म समात्न सकिरहेका थिएनन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सउलस्थित सेना प्रमुखले ती व्यक्ति जीवितै रहे नरहेको आफूहरूलाई थाहा नभए पनि उत्तर कोरियालाई सजग रहन भनिएको बताएका थिए ।

दक्षिण कोरियाली सेनाले भने नयाँ वर्षको दिनमा कडा सुरक्षा व्यवस्थाबीच उत्तर कोरियातर्फ सीमा पार गर्ने व्यक्ति पहिले त्यस्तै गरी दक्षिणतर्फ प्रवेश गरेको शङ्का गरेका छन् । अधिकारीहरूले ती व्यक्ति एक जिमनास्ट भएको आशङ्का गरेका छन् जसले सन् २०२० मा दक्षिण कोरियातर्फ काँडेतारको बारबाट हाम फालेका थिए।

उनी किन जोखिमपूर्ण ढङ्गमा फर्किए र उनी जीवित छ या छैनन् भन्ने विषय अझै स्पष्ट भएको छैन । हजारौँ उत्तर कोरियालीहरूले दक्षिण कोरियामा पुनर्वास गरेका छन्। तर यी दुई देशहरूलाई छुट्टाउने असैनिकीकृत दशगजा क्षेत्रमार्फत मानिस पार गर्नु दुर्लभ घटना हो ।

उत्तर कोरियाले कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सीमा क्षेत्रमा विनाअनुमति यात्रा गर्न लागेको जोकसैलाई देख्नासाथ गोली प्रहार गर्ने नीति लागु गरेको छ ।

बीबीसीका अनुसार यसअघि उत्तर कोरियाली नेता किम जङ अनले दक्षिण कोरियाबाट एक जना कोभिड लक्षण भएका व्यक्ति उत्तर कोरिया प्रवेश गरेको भन्दै एउटा सहर बन्द गर्नुका साथै राष्ट्रिय सङ्कटकाल घोषणा गरेका थिए । महामारी लक्षित लकडाउन र प्रतिबन्धहरूले देशभित्र हुने आवतजावतमा कडाइ भएपछि उत्तर कोरिया छोडेर दक्षिण कोरिया प्रवेश गर्नेहरूको सङ्ख्यामा पनि कमी आएको थियो ।

उत्तर र दक्षिण कोरियाबीचको सीमा विश्वमा सबैभन्दा धेरै सैन्य सुरक्षा व्यवस्था भएको सीमा मध्येमा पर्छ। यो सीमा जमिनमुनि विच्छ्याइएको विस्फोटक पदार्थ , करेन्ट बहने काँडे तार र सीसीटिभी क्यामरा सहित २४ घण्टा सतर्क अवस्थामा रहने सुरक्षाकर्मीहरूको निगरानीमा रहन्छ । दर्जनौँ मानिसहरू प्रत्येक वर्ष उत्तर कोरिया छोडेर भाग्छन्। तर डीएमजेड भनिने कडा सुरक्षा व्यवस्था भएको असैनिकीकृत क्षेत्र पार गरेर भाग्ने घटना अतिदुर्लभ र धेरै खतरनाक हो । तस्बिर : एपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित