हेइटीका प्रधानमन्त्रीमाथि आक्रमण
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११८ पटक पढिएको

हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई बन्दुकधारीहरूले मार्ने प्रयास गरेका छन् । उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा शनिवार आयोजना गरिएको देशको स्वतन्त्रता दिवस समारोहमा उनी माथि आक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
समाचार अनुसार गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हेइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ ।
सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको अनि दुई जना घाइते भएको बताइएको छ । प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एपीले उल्लेख गरेको छ ।
पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार भएको जनाईएको छ। उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए । हत्या गरिएका राष्ट्रपति मोइजलाई पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताइएको थियो । घटनामा प्रथम महिला पनि घाइते भएकी थिइन् ।
आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हालेका थिए ।