अतिरिक्त खोपको मात्रा दिन सुरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२० पटक पढिएको

सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै सरकारले जोखिम वर्गलाई अतिरिक्त खोप दिने निर्णय गरेको हो ।
कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।
मन्त्रालयले सोमबार जारी गरेकोसूचना अनुसार पहिले जुन खोप लगाइएको हो, सोही प्रकृतिको थप एक मात्रा खोप दिइने उल्लेख छ । केही दिनअघि राष्ट्रिय खोप सल्लाहकार समितिले पनि निश्चित समूहलाई खोपको अतिरिक्त मात्रा दिन सिफारिस गरेको थियो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिएको छ ।
मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने छन् ।
अतिरिक्त मात्राले ओमिक्रोनलगायत नयाँ भेरिएन्टबाट हुने क्षति कम गर्नुका साथै संक्रमणले छोइहाले पनि अस्पताल बसाइ, जटिलता र मृत्युको जोखिम कम गर्न सक्ने जनाईएको छ ।