ललिता निवास प्रकरण : १२६ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३२८ पटक पढिएको

 

काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पु-याएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको सीआईबीले निष्कर्ष निकालेको हो । 

सो जग्गामा बिचौलियाले प्लटिङ गर्दा सात रोपनी जग्गा सरकारी बाटो कायम भइसकेको छ । बाँकी १० रोपनी जग्गा केही व्यक्तिले फिर्ता गरेका छन् भने केही जग्गा प्रधानमन्त्री निवासको वैकल्पिक बाटो विस्तारका क्रममा काटिएको ब्युरोको निष्कर्ष छ । 

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले केही दिनमै प्रतिवेदन बुझाउने बताएका छन् । सीआईबीले सरकारी जग्गा हिनामिनामा जोडिएका ३ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गर्ने जनाएको छ । तिनमा तत्कालीन सरकारी कर्मचारी र अन्य छन् । 

यस प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँने भएको हुँदा उक्त समयभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधानका कारण ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

सीआईबीले १२६ रोपनी जग्गा हिनामिना हुँदा १२ अर्ब ९ करोड ६० लाख रुपियाँ सरकारी नोक्सानी भएकाले उक्त रकमको बिगो दाबी गर्ने तयारी गरेको छ । सीआईबीले ललिता निवास सरकारी जग्गाको मूल्याङ्कन प्रतिआना ६० लाख रुपियाँ कायम गरेको छ ।

अनुसन्धानबाट यस हिनामिना प्रकरणमा २०४९, २०६२, २०६६ र २०६९ मा गरी चार पटक कागजात किर्ते भएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । चार पटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको ब्युरोको अनुसन्धानबाट खुलेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित