माओवादी केन्द्रको विधान पारित
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६७ पटक पढिएको
नेकपा (माओवादी केन्द्र)को विधान पारित भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी ८ औं महाधिवेशनले शनिबार केही परिमार्जनसहित विधान पारित गरेको हो।
स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा पेश गरेका थिए । उनले पेश गरेको विधान सस्यौदा केही संशोधनसहित पारित गरिएको हो।
विधान अनुसार माओवादी केन्द्रको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्ने भएको छ । केन्द्रीय सदस्यको संख्या २९९ बनाउने तय भएको छ भने पदाधिकारी १५ जना रहने छन् ।
अहिले पारित भएको विधानअनुसार, १५ पदाधिकारी हुने व्यवस्था थियो । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष हुने व्यवस्था छ। पदाधिकारीको कति राख्ने भन्ने टुंगो लगाउने जिम्मा केन्द्रीय समितिलाई दिएपछि पदाधिकारी संख्या अझै बढ्नसक्ने पनि बताईएको छ ।
केन्द्रीय सदस्यमा पनि ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गरिने भएको छ। यससँगै १५ प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनित गर्न पाउनेछ । यसअघि १० प्रतिशत मनोनित गर्ने व्यवस्था थियो ।
समावेशीबाट आउने ५० प्रतिशत केन्द्रीय सदस्यमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर छुटयाइएको छ । खुला र सबै क्लस्टरबाट गरी ३५ प्रतिशत महिला आउने व्यवस्था गरिएको छ ।
विधान पारित भएसँगै बसेको माओवादी स्थायी समितिको बैठकपछि निर्वाचन प्रक्रिया शुरू हुने बताईएको छ ।