धान उत्पादनमा गिरावट
- वर्ल्ड दैनिक
- २ साल अघि
- २१९ पटक पढिएको
यस आव २०७८/७९ मा ५१ लाख ३० हजार ६०४ मेट्रिक टन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशतले कम हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ४ लाख ९० हजार ३९६ मेट्रिक टन धान कम उत्पादन भएको हो ।
पाँच वर्षकै अवधिमा यस पटक सबभन्दा कम धान उत्पादन भएको हो । धानको उत्पादन आव २०७७/७८ मा ५६ लाख २१ हजार, २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, २०७५/७६ मा ५६ लाख १० हजार ११, २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ र २०७३/७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन थियो ।
कृषि मन्त्रालयले बेमौसमी वर्षालाई धान उत्पादनमा कमी हुनुको कारणमा लिएको छ । कृषि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार ४ लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ । असोजको अन्तिम हप्ता भएको वर्षाका कारण धानमा ठूलो क्षति पु-याएको थियो । वर्षाले सुदूरपश्चिम र लुम्बनी प्रदेशको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने बेलामा पारेको क्षतिले समग्र राष्ट्रिय उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।