दक्षिण अफ्रिकामा लगाइएको रात्रिकालीन कर्फ्यु हटाईयो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८३ पटक पढिएको
कोरोना महामारीको चौथो लहर लगभग समाप्त भइसकेको भन्दै दक्षिण अफ्रिकामा लगाइएको रात्रिकालीन कर्फ्यु हटाइएको छ । सरकारले बिहिबार एक वक्तव्य जारी गर्दै ओमिक्रोन भेरियन्टको चर्काे आक्रमणका बाबजुद कोरोनाको पछिल्लो लहरविरुद्धको लडाइमा अब अस्पताल भर्ना हुने दर कम भएको जनाएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार सरकारले मृत्युदरमा भने सामान्य वृद्धि भएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले अघिल्लाे दिन मात्रै डेल्टा र ओमिक्रोन भेरियन्टले संक्रमणको सुनामी ल्याउने चेतावनी दिएको छ । त्यसलगत्तै दक्षिण अफ्रिकाले भने रात्रिकालीन कर्फ्यु हटाउने घोषणा गरेको हो । एक विशेष क्याबिनेट बैठले देशका लगभग सबै प्रान्तमा कोरोना संक्रमित र अस्पताल भर्ना हुने क्रममा कमी आएको बताएको छ ।
कोरोनाको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामानै देखिएको थियो । यो भेरियन्ट यसअघिका अरु भेरियन्टभन्दा निकै संक्रामक भएको वैज्ञानिकहरुले बताएका छन् । यसबाट बच्न विश्वभरका देशले उच्च सावधानी अपनाउँदै कडा प्रतिबन्ध लागू गरेका छन् ।
ओमिक्रोन तीव्र गतिमा फैलन नदिन युरोपेली र अमेरिकन राष्ट्रहरूले भनेप्रतिबन्धात्मक व्यवस्था लागु गर्ने क्रम जारी राखेका छन् । लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरू सबै स्थगित भैसकेका छन् । त्यसैगरी आयरल्यान्डमा पनि बार अनि रेष्टुराँ ८ बजेपछि सञ्चालन हुन नपाउने नियम लागु भैसकेको छ ।