मुल्य निर्धारण बिना उखुको समर्थन मूल्यसम्बन्धी प्रस्ताव तयार
- वर्ल्ड दैनिक
- २ साल अघि
- २८२ पटक पढिएको
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुल्य निर्धारण बिना उखुको न्यूनतम समर्थन मूल्य तोक्नेसम्बन्धी प्रस्ताव तयार गरेको छ ।
कृषिमन्त्री महिन्द्रराय यादवले वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सिफारिस गरेको प्रस्ताव तयार भएको बताएका छन् । उखु किसान, चिनी उद्योगीलगायत अन्य सरोकारवालासँग छलफल गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको समेत उनले बताएका छन् ।
मन्त्री यादवले भने, “उखुको मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पठाएका छौँ । उद्योग मन्त्रालयले जति छिटो मन्त्रिपरिषद्मा लैजान्छ त्यति छिटो मूल्य निर्धारण हुन्छ । ”
कृषि विभागका अनुसार किसानले प्रतिक्विन्टल ६५० रुपियाँ प्रस्ताव गरेकाले त्यसैको वरिपरि मूल्य निर्धारण गरेको भएको छ । मूल्य निर्धारण सम्बन्धि नियम भने छिट्टै सार्वजनिक गर्ने विभागले जनाएको छ ।
कृषि मन्त्रालयमा केहि समय अघि भएको छलफलमा चिनी उद्योगीले सरकारको अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ राख्नुपर्ने प्रस्ताव गरेका थिए भने किसानले ६८० रुपियाँ हुनुपर्ने माग प्रस्तुत गरेका थिए । यस अघि कृषि मन्त्रालयले ५६५ रुपियाँ दिनेगरी प्रस्ताव तयार गर्दा किसानहरुले विरोध गरेका थिए ।
त्यस्तै उखु उत्पादन महासङ्घले उखु क्रसिङ गर्ने बेला भईसक्दा पनि सरकारले मूल्य निर्धारण गर्न नसक्दा किसान मर्कामा परेको जनाएका छन् ।
अहिले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा रहेको छ । गत वर्ष उखुको न्यूनतम लागत ३८६ रुपियाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपियाँ ८९ पैसासहित कुल ४७९ रुपियाँ दुई पैसा तोकिएको थियो । त्यसमा सरकारले प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने गरेको छ ।