रोनाल्डोको मूर्तिले गोवामा विवाद

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९९ पटक पढिएको

 

पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको नयाँ मूर्तिका कारण भारतमा विवाद भएको छ ।

भारतको पश्चिमी गोवा राज्यमा राखिएको उक्त मूर्तिलाई त्यहाँका अधिकारीहरूले स्थानीय युवाका लागि प्रेरणाको स्रोत बन्ने बताई रहेका छन् । तर त्यहाँका स्थानीयहरूले गोवा पोर्चुगलबाट स्वतन्त्र भएको ६० औँ वार्षिकोत्सवमै रोनाल्डोको मूर्ति स्थापना गर्नु अपमानजनक भएको बताएका छन् ।

आईएएनएस समाचार एजेन्सीले ग दक्षिणपन्थी कार्यकर्ता गुरु शिरोदकरलाई उद्धृत गर्दै लेखेको छ, "यसै वर्ष पोर्चुगल फुटबल खेलाडीको मूर्ति खडा गर्नु अपमानजनक काम हो । हामी यस कार्यको भर्त्सना गर्छौँ । " 

त्यस्तै टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार प्रतिमा अनावरणको क्रममा केही मानिसले कालो झन्डा फहराउँदै विरोध जनाएका थिए ।

यसैबीच सत्तारुढ भारतीय जनता पार्टी भाजपाका स्थानीय सांसद माइकल लोबोले मूर्तिसहित तस्बिर ट्वीट गर्दै भनेका छन्, "हाम्रै युवाहरूको अनुरोधमा यो राखिएको हो। यो उनीहरूको फुटबल यात्रालाई अझ उचाइमा पुर्‍याउन प्रेरित गर्न स्थापना गरिएको हो ।"

कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै स्वतन्त्र भएको थियो । गोवा स्वतन्त्र भएको ६० वर्ष मात्र भएको छ । समाचार अनुसार भारतमा क्रिकेट लोकप्रिय भए पनि केरला, गोवा, पश्चिम बङ्गाल र उत्तर-पूर्वी राज्यहरूमा फुटबल पनि लोकप्रिय छ ।

सन् २०१७ मा पनि पोर्चुगलस्थित मडेइरा एयरपोर्टमा राखिएको उनको अर्धकदको मूर्ति सामाजिक सञ्जालमा विवादको विषय बनेको थियो । चर्को आलोचना पछि त्यसलाई प्रतिस्थापन गरिएको थियो । बीबीसीबाट 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित