रौतहटमा जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २५८ पटक पढिएको
गएको मंगलबार रौतहटमा स्कर्पीयो जिप दुघर्टना हुँदा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका-१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो । अनियन्त्रित गाडी सडकभन्दा केही पर रहेको ३३ केभिएको बिजुलीको पोलमा ठोक्किएर तल हिलोमा झरेको थियो ।
मृत्यु हुनेमा गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेस थिए ।
नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले पनि उपचाररत छन् ।