मङ्गलवारदेखि अत्याधिक चिसो बढ्यो / हिमपातको सम्भावना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०९ पटक पढिएको

 

मङ्गलवारदेखि नेपालका अधिकांश स्थानमा चिसो बढेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढेर चिसो पनि बढेको महाशाखाले जनाएको हो । 

यो क्रम मङ्गलवार र बुधवार यत्तिकै रहने देखिएको मौसमविद्हरुले जनाएका छन् । यसले गर्दा उच्च हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना र उच्च पहाडी अनि पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्य सम्भावना रहेको बताईएको छ । त्यस्तै तराईका जिल्लामा भने फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो प्रणाली नेपालबाट बाहिरिएपछि तराईका केही स्थानमा बाक्लो हुस्सु लाग्न सक्ने छ । बिहीबारबाट यो प्रणाली रोकिने हुँदा क्रमशः घाम लाग्न थाल्ने र मौसम सुधार हुँदै जाने पूर्वानुमान गरिएको छ । गत वर्ष यो समयमा तराईमा बाक्लो हुस्सु लागिसकेको भए पनि यो वर्ष भने अबका केही दिनमा मात्रै त्यस्तो अवस्था देखिन सक्ने अनुमान गरिएको छ ।

मौसम बदली भएसँगै घटेको तापमानबीच काठमाण्डू आसपासका उच्च भूभागमा पनि हलुका हिमपात हुन सक्ने अनुमान गर्न सकिने बताइएको छ । मङ्गलवार र बुधवार चन्द्रागिरि र नगरकोटलगायत काठमाण्डू उपत्यका आसपासका डाँडाहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि बताईएको छ । 

मौसमविद्हरूका अनुसार अहिले देशभरिका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको र दिनको समयमा घाम नलागेका कारण अधिकतम तापक्रम घटेका छन् । जुम्ला, ताप्लेजुङ, जिरी र जोमसोम आदि क्षेत्रमा अहिले तापक्रम माइनसमा गएको महाशाखाले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित