सन् २०२१ मा मौसमी घटना का कारण लाखौं मानिस प्रभावित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९७ पटक पढिएको

 

यस वर्ष जलवायु परिवर्तनबाट उत्पन्न मौसमी घटनाका कारण लाखौं मानिस प्रभावित भएका छन् भने अर्बौं डलर बराबरको क्षति भएको विवरण सार्वजनिक भएको छ । बीबीसीले जनाए अनुसार क्रिश्चियन एड नामक संस्थाले तयार पारेको एक प्रतिवेदनमा २०२१ मा मौसमी प्रकोपबाट लाखौं मानिस प्रभावित भएका छन् ।

प्रकोपको आर्थिक असर हेर्दा २०२१ सबैभन्दा विध्वंसकारी वर्ष बनेको भन्दै अर्बौं डलर बराबरको क्षति भएको क्रिश्चियन एडको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  सबै विषम मौसमी प्रकोप जलवायुबाट उत्पन्न भएको वा जलवायुसँग जोडिएको नदेखिएको पनि प्रतिवेदनले जनाएको छ । 

अध्ययनमा समावेश गरिएका अति विध्वंसकारी मौसमी प्रकोपमध्ये अधिकांश विकसित मुलुकमा आएका थिए ।अध्ययनका क्रममा १ अर्ब ५० करोड डलरभन्दा बढी क्षति गरेका १० वटा विषम मौसमी प्रकोपको विश्लेषण गरिएको थियो । 

कहाँ के कति क्षति भए ?

अध्ययनले अगस्टमा अमेरिकामा आएको इडा नामक आँधी र जुलाईमा युरोपमा आएको बाढीबाट सबैभन्दा धेरै आर्थिक क्षति भएको देखाउँछ ।

इडा आँधीमा परी ९५ मानिसको मृत्यु र ६५ अर्ब बराबरको आर्थिक क्षति भएको थियो । साथै, जर्मनी, फ्रान्ससहितका युरोपेली मुलुकमा आएको बाढीमा २४० मानिसले ज्यान गुमाएका थिए भने ४३ अर्ब डलर बराबरको भौतिक क्षति भएको थियो ।

यसबाहेक, अमेरिकाको टेक्सासमा परेको हिमपात र लगत्तै आएको आँधीबाट २३ अर्ब र चीनको हेनान प्रान्तमा आएको बाढीबाट १७ अर्ब ६० करोड डलर क्षति भएको अध्ययनको निष्कर्ष छ । अर्बौं डलर बराबरको नोक्सानी गरेका अन्य प्रकोपमा क्यानडाको बाढी र फ्रान्सको अंगुर बगैचामा क्षति गरेको तुसारो रहेका छन् ।

यस्तै कैयौं गरीब मुलुकमा आएको बाढी र आँधीहुरीबाट ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् भने मानिसहरूले गम्भीर कष्ट एवं पीडा भोगेका छन् । दक्षिण सुडानमा आएको बाढीपछि ८ लाख बढी विस्थापित भएका थिए । साथै, मे महिनामा भारत, श्रीलंका र माल्दिभ्समा आएको ताउते आँधीका कारण दुई लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित