उत्तरी इजरायलमा बर्डफ्लुका कारण २ हजार सारस मरे
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४० पटक पढिएको

उत्तरी इजरायलमा रहेको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुका कारण २ हजार भन्दाबढी सारस मरेका छन् । बर्डफ्लुबाट अन्य १० हजार सारस संक्रमित भएको हुन सक्ने इजरायल प्रकृति तथा पार्क प्राधिकरणका अधिकारीहरूले अनुमान गरेका छन् ।
प्राधिकरणका एभियन इकोलोजिस्ट ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौं चराचुरुङ्गी प्रभावित हुने गर्छन् । उनले समाचार संस्था एएफपी सँग कुराकानी गर्दै भने, "अहिलेसम्म, २ हजार सारसहरू मरेका छन् र अनुमानित १० हजारबाट संक्रमित छन् । "
त्यस्तै अहिले इजरायलमा सारस जनसंख्याको एक-पाँचौं भाग बर्ड फ्लूबाट प्रभावित भएको अनुमान गरिएको प्राधिकरणको वैज्ञानिक विभागका उपनिर्देशक उरी नाभेहले बताएका छन् । बर्डफ्लुबाट ठूलो संख्यामा चराहरुको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको उनको भनाई छ । सोमबार मरेका सरसहरूको संख्या असाधारण भएको उनले बताएका छन् ।
हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिव एक लाख आप्रवासी सारस इजरायल पुगेका छन् । तीमध्ये अधिकांश सारसको एउटा बथान हुला उपत्यकामा रोकिएको थियो ।
हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट पोइन्ट’ हो । सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ ।
यसैबीच, उत्तरी इजरायलमा केही चल्लामा एच५एन१ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ । संक्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अन्डा बिक्रीमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच५एन१ भाइरसबाट इन्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको छ । तस्बिर: एपी