सोमालियाका प्रधानमन्त्रीलाई राष्ट्रपतिले गरे निलम्बन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५३ पटक पढिएको

सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरेका छन् । राष्ट्रपति मोहमदले प्रधानमन्त्री रोब्लेलाई इस्लामवादी विद्रोहबाट सरकारको ध्यान विचलित गर्ने पछिल्लो शक्ति संघर्षमा संदिग्ध भ्रष्टाचारको लागि निलम्बन गरेको घोषणा गरेका हुन् ।
समाचार संस्था रोयटर्सका अनुसार संकटग्रस्त मुलुक सोमालियामा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गरेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताएका छन् ।
‘राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा नरहने बताउनुभएको छ,’ राष्ट्रपतिको कार्यालयले एक वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्रीलाई जमिन ओगट्ने एक मुद्दाको छानबिनमा हस्तक्षेप गरेको र निर्वाचन प्रक्रियालाई लम्ब्याएको आरोप लगाउँदै निलम्बन गरिएको घोषणा गरिएको छ ।
त्यहाँका सहायक सूचना मन्त्री अब्दिरहमान युसुफ ओमर अदालाले भने राष्ट्रपति मोहम्मदको यो कदमलाई "अप्रत्यक्ष कू" भनेका छन् ।
समाचार अनुसार फार्माजो भनेर चिनिने राष्ट्रपति मोहम्मद र प्रधानमन्त्री रोब्लेबीच लामो समयदेखि सत्ता सञ्चालनका विषयलाई लिएर सम्बन्ध बिग्रिएको थियो । पछिल्लो घटनाक्रमले सोमालियाको राजनीतिक स्थिरतासहज नहुने नयाँ डर उत्पन्न गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विवाद र प्रधानमन्त्रीको निलम्बनले सोमालियामा तत्काल निर्वाचन नहुने हो कि भन्ने चिन्ता थपिएको छ ।
आइतबार रोब्लेले राष्ट्रपतिले निर्वाचन प्रक्रिया तोडफोड गरेको आरोप लगाएका थिए । सोमबारको निलम्बन घोषणाप्रति कुनै प्रतिक्रिया नदिए पनि रोब्लेले भने, ‘फार्माजोले स्वस्थ तथा विश्वसनीय निर्वाचन गर्न नचाहेको देखियो ।’
यसैबीच सरकारका प्रवक्ता मोहम्मद इब्राहिम मोआलिमुले राष्ट्रपतिको कार्य असंवैधानिक भएको र रोबेलले आफ्नो जिम्मेवारी जारी राख्ने बताएका छन् ।
गत अप्रिलमा फार्माजोले नयाँ निर्वाचन नगरी आफ्नो कार्यकाल लम्ब्याएपछि सरकार समर्थक तथा विपक्षी लडाकूहरूले मोगादिशुको सडकमा प्रदर्शनहरू गरेका थिए भने झडपमा परी दर्जनौंको मृत्यु भएको छ ।
अमेरिकी दूतावासले भने अफ्रिकाको हर्नमा दुवै पक्षबाट तनाव कम गर्न आग्रह गरेको छ । तस्बिर : रोयटर्स