बङ्ग्लादेशमा डुङ्गा आगलागी : डुङ्गा मालिक पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३५३ पटक पढिएको
गत शुक्रबार आगलागी भएको डुङ्गा (पानीजहाज)का मालिकलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले सोमबार जहाज मालिकलाई पक्राउ गरेको हो ।
पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको त्यहाँको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताएका छन् । ओबिजान–१० का क्याप्टेन र चालक दलसहित आठ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो ।
समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताएका छन् ।
उनले समाचार संस्था एएफपीलाई भने, ‘हामीले बाँचेकाहरूसँग कुरा गर्यौं र उनीहरूले क्याप्टेनले जहाजको इन्जिन कोठामा आगलागी भएको झण्डै एक घण्टापछि मात्र जहाजलाई नदी किनारमा अवतरण गरेका थिए । यदि तिनीहरूले डुङ्गालाई रोकेर तुरुन्तै लङ्गर लगाएको भए यसले यी सबै बहुमूल्य जीवन बचाउन सक्थ्यो।’
करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुनानजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । दर्जनौं घाइते भएका थिए । कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्याधिक बढी यात्रु राखिएको बताईएको छ ।
घटनामा बाँच्न सफल यात्रुहरूले तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हाम फाल्नु परेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग गरेका छन् । मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबेका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।
बङ्गलादेशका विशेषज्ञहरूले मर्मत–सम्भारको कमी, सुरक्षा स्तर वेवास्था र समुद्री यात्रामा राखिएको अत्याधिक सङ्ख्या दुर्घटनाको कारण हुनसक्ने बताएका छन् ।
गत अगस्ट महिनामा पनि यात्रुहरूले भरिएको एउटा जहाज बालुवाले भरिएको मालवाहक जहाजसँग ठक्कर खाँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको थियो । तस्बिर : एएफपी