एमाले सँगको एकता गलत थिएन : अध्यक्ष दाहाल
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२० पटक पढिएको

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाण्डूमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनको उद्घाटनको अवसरमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले महासचिव शंकर पोखरेलको खुलेर प्रशंसा गरेका छन् । शुभकामना दिन उपस्थित भएका एमाले महासचिव पोखरेलले पार्टी एकता जोगाउन नसकेकोमा पछुतो लागेको बताएका थिए ।
पोखरेलको सोहि अभिव्यक्तिलाई लिएर प्रचण्डले प्रशंसा गरेका हुन् । पोखरेलले भनेका थिए, ‘नेकपाको गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’
प्रचण्डले एमालेसँग गरिएको एकता गलत नभएको र फेरि समीक्षा गर्न आग्रह समेत गरेका छन् । उनले भने, “पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । फेरि आत्मसमीक्षा गरौं । ”
उद्घाटन समारोहमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी भएको पनि बताएका छन् । महाधिवेशन उद्घाटन समारोहमा आउन निम्ता गरेको तर काठमाण्डू बाहिर रहेकाले एमाले अध्यक्ष ओली आउन नसकेको दाहालको भनाइ थियो ।
त्यस्तै, प्रचण्डले आठौँ महाधिवेशनमा पेश गर्न लागेको दस्तावेजले मुलुक तत्कालै समाजवादमा प्रवेश गर्न नसक्ने बताएका छन् । ‘वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्यही मूल नीतिअन्तर्गत नेकपा माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति छैन’, उनले तयार पारेका प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच माओवादी केन्द्रको भावी नेतृत्वबारे पनि महाधिवेशनमा बहस शुरु हुँदा प्रचण्डलाई चुनौती दिने कोही नदेखिएकाले उनी पुनः अध्यक्ष बन्ने पक्का भएको अनुमान लगाउन थालिएको छ ।
शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो ? किन राताराता यस्तो निर्णय भयो ? भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा छ ।
एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा आम कार्यकर्ता पङ्क्तिमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै थियो । शनिबार मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेतासँग सल्लाह गरे र सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको हो ।
शनिबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले नै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी गराएका थिए । स्थानीय तहदेखि नै सबै प्रक्रिया पु¥याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखिएको र विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्न लागेकाले यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखिने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानुनी एवं संवैधानिक प्रावधान छ । वि.सं. २०७३ मा तत्कालीन नेकपा (एमाले)सँग एकता भएकाले महाविधेशनलगायतका नियमित प्रक्रिया अगाडि बढेको थिएन ।
गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुट्टाछट्टै दलका रुपमा विभक्त भएका थिए । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।माओवादीको विधानअनुसार सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।