कंगोमा बम विस्फोट हुँदा ६ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२० पटक पढिएको

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी सहर बेनीमा रहेको एक रेस्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
क्रिसमस मनाइरहेका मानिसले भरिएको एक रेष्टुरेन्टको प्रवेशद्वारमा बम विस्फोट भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार प्रहरीले बम बोकेका आत्मघाती व्यक्तिलाई बक्स रेष्टुरेन्टभित्र छिर्न खोज्ने क्रममा रोकेका थिए । सोही क्रममा ती व्यक्तिले आफैंलाई विस्फोट गराएको समाचारमा जनाइएको छ ।
एएफपी समाचार एजेन्सीले आफ्ना संवाददाताले रेस्टुरेन्टमा विस्फोट भएको ठाउँमा तीनवटा शवको देखेको उल्लेख गरेको छ । मृतकहरूमा दुई बालबालिका र दुई स्थानीय अधिकारीहरू समेत रहेको बताईएको छ ।
बम विस्फोटका बेला उक्त रेष्टुरेन्टमा ३० भन्दा मानिसले क्रिसमस मनाइरहेका थिए । विस्फोटमा अन्य १३ जना घाइते भएका छन् ।
शनिबार भएको विस्फोटमा इस्लामिक स्टेटसँग आबद्ध ठानिएको लडाकु समूह ‘अलाइट डेमोक्रेटिक फोर्सेस (एडीएफ)’ को हात रहेको अधिकारीहरूको भनाइ छ । तर हालसम्म कुनै पनि समूहले बम विस्फोटको जिम्मा लिएको छैन । तस्बिर: एएफपी