बङ्ग्लादेशमा डुङ्गा आगलागी : मृत्यु हुनेको संख्या ४० पुग्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३० पटक पढिएको

 

बङ्ग्लादेशमा शुक्रवार बिहान यात्रुवाहक डुङ्गामा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । त्यहाँको सुगन्धा नदीमा उक्त घटनामा झन्डै १०० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घटना भएको झालोकाटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौँ शव फेला पारिएको बीबीसी बाङ्ग्लाले उल्लेख गरेको छ ।

हकले भने, "मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ । धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हाम फाल्दा डुबेर मरेका छन् ।"

शुक्रवार सबेरै उक्त डुङ्गामा आगलागी सुरु भएको थियो । आगलागीको कारण अझै पत्ता लागेको छैन । डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन् । एमभी अभियान नामक डुङ्गा ढाकाबाट बर्गुनाका लागि हिडेको थियो । डुङ्गामा ५०० जना यात्रु सवात रहेका थिए । 

बाँच्न सफल एक वृद्धाले समाचारसंस्था एएफपीलाई आगलागी भएको बेला धेरैजसो मानिस सुतिरहेका बताइन् । "सबभन्दा तल्लो तलाको भुईँमा हामी सुतिरहेका थियौँ, मसँग मेरो नौ वर्षको नाति नायीम पनि थियो। ऊ नदीमा हाम फाल्यो उसलाई के भयो मलाई थाहा छैन।"

रिपोर्टहरूमा जनाइएअनुसार दुर्घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ । बङ्ग्लादेशमा बारम्बार डुङ्गाको सुरक्षा स्थिति राम्रोसँग जाँच नगरिनु, सुरक्षा मापदण्डको अभाव र क्षमताभन्दा बढी यात्रु बोक्नुका कारण हुने गरेको बताइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित