चितवन राष्ट्रिय निकुञ्जमा १९ गैँडा मरे
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९९ पटक पढिएको
चितवन राष्ट्रिय निकुञ्जमा १९ गैँडा मरेका छन् । चालु आर्थिक वर्षमा मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको भने अन्य कालगतिले मरेका निकुञ्ज जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा ६, भदौमा २, असोजमा १, कात्तिकमा ३, मङ्सिरमा ५ र पुसमा २ गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर ५, भासिएर ५, पानीमा डुबेर २, जुधेर ४ र बाघको आक्रमणबाट १ गैँडा मरेको जनाइएको छ ।
यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा भने सिकारीले मारेको आशङ्का गरिएको उनले बताएका छन् ।
कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली पनि बनाइएको थियो ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका राससले उल्लेख गरेको छ ।
राससका अनुसार गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि बढी हुने गरेको छ । सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढ्दा अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरु वताउँछन् । तस्बिर : रासस