ओमिक्रोन तुलनात्मक रुपमा मध्यम स्तरको भएको प्राम्भिक अध्ययनको निष्कर्ष

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५० पटक पढिएको

 

बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन सङ्क्रमण तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको देखाएका छन् । प्रारम्भिक नतिजाले अन्य भेरियन्टका संक्रमित भन्दा भन्दा ओमिक्रोन संक्रमितहरु ५० देखि ७० प्रतिशतसम्म कम अस्पताल भर्ना हुनुपर्ने देखाएको छ ।

तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरैलाई चाँडो संक्रमण गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने अनुमान गरिएका छन् । बेलायतमा बुधवार मात्र एक लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

दक्षिण अफ्रिकामा गरिएको अध्ययनले पनि अन्य लहर र अन्य भेरियन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ । तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरियन्ट र अन्य भेरियन्टको संक्रमितमा खास फरक नदेखिएको जनाएको छ ।

त्यस्तै स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको थियो । त्यसले ओमिक्रोन पनि डेल्टा भेरियन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको जनाएको छ ।

बीबीसीका अनुसार अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन् । यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ ।

ओमिक्रोन भेरिअन्ट कम घातक हुनुका कारण यसको बनौट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ । यसैबीच लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनको उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ ।

अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम  भएको निष्कर्ष निकालेको छ । सो अध्ययन अनुसार प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित