पञ्जाबको जिल्ला अदालतमा विष्फोट : २ को मृत्यु, ५ जना घाइते
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३३८ पटक पढिएको
पञ्जाबको लुधियानास्थित जिल्ला अदालतको परिसरभित्र विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ । भारतीय समाचार माध्यमहरुका अनुसार लुधियानाका पुलिस कमिश्नर गुरप्रीत सिंह बुल्लारले अदालतको दोस्रो तल्लामा रहेको रेकर्ड रुममा विस्फोट भएकोले बताएका छन् ।
अदालतभित्र नियमित क्रियाकलाप भइरहेका बेला भएको विस्फोटमा परी अन्य ५ जना घाइते भएका छन् । दोस्रो तल्लामा ८ वटा कोठा छन्, तर वकिलहरूको एक वर्गको हडताल गरेका कारण बिहीबार धेरै मानिस उपस्थित नरहेको बताईएको छ ।
अहिले उक्त क्षेत्रलाई प्रहरीले घेरा हालेर अदालत परिसर खाली गराएको बताईएको छ । घाइते मध्ये एक अधिवक्ता आरएस मण्डको पहिचान भएको छ । समाचार अनुसार विष्फोट के कारणले भएको भन्ने स्पष्ट जानकारी भएको छैन ।
विस्फोटपछि पञ्जाबमा मुख्यमन्त्री चरनजीत सिंह चन्नीले आफू लुधियाना जान लागेको बताएका छन् । पञ्जाबमा विधानसभा चुनाव नजिकिँदै गर्दा राष्ट्रविरोधी शक्तिले यस्ता घटना घटाएको पनि चन्नीको भनाइ छ ।
जिल्ला अदालतमै बम विष्फोट भए पछि सुरक्षा व्यवस्था मिलाएर अब सबै सरकारी कार्यालयमा चेकजाँच गरिने जनाईएको छ । पञ्जाबमा ड्रोनले हतियार खसालेको लगातार रिपोर्टहरू सार्बजनिक भइरहँदा विस्फोटले विष्फोट हुनुले सरकारी भवनहरूको सुरक्षामा प्रश्न उठाएको हिन्दुस्तानी टाइम्सले उल्लेख गरेको छ । तस्बिर : हिन्दुस्तानी टाइम्स