बाघ सर्वेक्षणमा प्रयोग भएका ५ वटा क्यामेरा चोरी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९५ पटक पढिएको

 

राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका ५ वटा स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका ५ वटा क्यामेरा चोरी भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको ५ वटा क्यामेरा चोरी भएको हो  । बुधबार पत्रकार सम्मेलन मार्फत निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामेरा अन्य प्रयोजनका लागि काममा नआउने बताएका छन् ।

बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामेराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ ।

चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि करिब तीन महिना समय लाग्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले अहिले १३ स्थानमा क्याम्प राखेर बाघ सर्वेक्षणको काम भइरहेको जानकारी दिए ।

एउटा क्याम्पसमा गणक र प्राविधिकसहित आठ जनाको टोली परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजितानुसार ९३ वटा बाघ छन् ।

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटसबर्गमा भएको बाघ पाइने देशहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा पुगिसकेको छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित