”मूल नेतृत्वमा अधिकतम ढोंग” भएको भन्दै रन्जु दर्शनाले छाडिन् पार्टी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८४ पटक पढिएको
वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग भएको भन्दै रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडेकी छिन् । बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् ।
अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनको भनाई छ । वक्तव्य मार्फत उनले भनेकी छिन्, ‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव-चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’
त्यस्तै सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छिन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’
नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ । उनले अगाडि भनेकी छिन्, ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम , व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’
दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारसमेत बनेकी थिइन् ।