पाटनमा ढल खन्दा लिच्छविकालीन अभिलेख भेटियो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४६ पटक पढिएको

 

ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख भेटिएको छ । सोमबार पाटन दरबार परिसरभित्र ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडिको सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको हो।  

हाल पुरातत्‍त्व विभागको संरक्षणमा रहेको उक्त शिलालेखको प्रारम्भिक अध्ययनमा १५ पङ्क्तिको अभिलेख राजा अंशुवर्माकालीन भएको पाइएको छ । शिलालेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको छ। यसको शिरोभागमा दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ। शिलालेखको अन्तिम पङ्क्तिमा भने दूतक कुमारामात्य चन्द्रजीवको नाम छ ।

अभिलेखमा राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने स्पष्ट लेखेको बताईएको छ । पुरातत्त्व विभागले पठाएको अनुसन्धान टोलीका लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले भने, “अहिले सबै शिलालेख पढ्न सकिएको छैन । तर, त्यहाँ अंशुवर्माको नाम देखिन्छ । यसमा राजा वृषदेवले बनाएको विहारको उल्लेख अहिलेसम्म पाइएको रोचक तथ्य हो ।” 

३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो । यस शिलालेखमा पनि संवत् ५३६ जेष्ठ उल्लेख छ ।  यी दुई शिलालेखलाई दाँजेर त्यस वेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने उनको भनाई छ । 

पुरातत्त्व विभागका निर्देशक दामोदर गौतमका अनुसार आजसम्म २५० भन्दा बढी लिच्छिविकालीन अभिलेख सङ्कलित भइसकेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित