माल्दिभ्समा ‘इन्डिया आउट’ अभियान
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०० पटक पढिएको
मालदिभ्समा पूर्वराष्ट्रपति अब्दुल्ला यामिन नेतृत्व गरेको भारतविरोधी आन्दोलनलाई तीव्र पारिएको छ । सन् २०१८ बाटै यो अभियान सुरु भए पनि यसलाई अहिले तीव्रता दिइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मालदिभ्समा भारतको उपस्थिति अन्त्य हुनुपर्ने उनीहरुले माग राखेका छन् ।
मालदिभ्सबाट भारतीय सैनिकको उपस्थिति र सैन्य उपकरण हटाइनुपर्ने अभियानको मुख्य माग रहेको छ । आन्दोलन तीव्र रूपमा अघि बढिरहेकोले त्यहाँको सरकारले नै पछिल्ला घटनाक्रमले चिन्तित भएको जनाएको छ ।
त्यतिबेला तत्कालीन राष्ट्रपति अब्दुल्लाह यामिन थिए । राष्ट्रपतीय चुनावमा हार बेहोरेपछि भएको गिरफ्तार रोक्न भारतले पहल नगरेको भन्दै अब्दुल्लाह यामिन रुष्ट भएको बताइन्छ । चीनको उपस्थितिलाई बढावा दिएकाले भारतले यामिन प्रकरणमा दबाब नदिएको पनि विश्लेषण हुन थालिएको छ ।
समाचार अनुसार प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स(पीपीएम) ले भारतीय सैनिक मालदिभ्सबाट तत्काल हट्नुपर्ने बताएको छ । उक्त पार्टीकी नेता तथा पूर्वमन्त्री लुबना जाहिरले भारतीय खाना, उत्पादन र औषधि मन पर्ने भए पनि आफ्नो भूमिमा भारतीय सैनिकको उपस्थिति मन नपरेको बताएकी थिइन् ।
त्यस्तै डिसेम्बर १९ मा मालदिभ्सको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतविरुद्ध फैलाइएको घृणा र झूटलाई लिएर चिन्तित भएको जनाएको थियो । विदेश मन्त्रालयले भारत मालदिभ्सको नजिकको साझेलार मुलुक रहेको उल्लेख गर्दै केही नेता सानो समूहले ‘प्रोपोगान्डा’ फैलाएको बताएको थियो ।
सन् २०१८ मा इब्राहिम सोलिह मालदिभ्सको राष्ट्रपति बनेपछि विदेश नीति भारततर्फ झुकेको बताइन्छ । सोलिहको नीति ‘इन्डिया फर्स्ट’ भए पनि भारतले भने ‘इन्डिया ओन्ली’ को नीति अपनाउन उनलाई दबाब दिएको समाचारहरु आइरहेका छन् ।
मालदिभ्सको आन्तरिक राजनीतिमा भारतले पटक-पटक हस्तक्षेप गरेको इतिहास रहेको छ । सन् १९८८मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले सेना पठाएर मौमून अब्दुल गयूमको सरकार बचाइदिएका थिए । तस्बिर : सामाजिक संजाल