फाइभजी तत्काल प्रयोग नगर्न अमेरिकी सरकारलाई आग्रह
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८० पटक पढिएको

विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्नको लागि हतार नगर्न आग्रह गरेका छन् । एउटा पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले गर्दा "नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने" चेतावनी दिएका छन् ।
यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो । अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन् ।
"फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ," बोइङमा डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ। सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ ।
सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ । उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी ज्यानुअरी ५ अगाडि दिने बताएको छ ।
नोभेम्बरमा एटीएन्डटी र भेरिजनले फाइभजी लागु गर्ने कार्यक्रम ज्यानुअरीलाई सार्दै यसले विमानलाई गर्न सक्ने असर कम गर्ने उपायहरू लागु गर्ने बताएका थिए । उड्डयन उद्योगले भने ती उपायहरू पर्याप्त नभएको बताएका छन् भने बोइङ र एअरबसले विमानस्थलमा र वरपर फाइभजी मोबाइल सिग्नल नियन्त्रण गर्ने प्रस्ताव गरेका छन् ।
गत साता यूनाइटेड एअरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए । अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम भएको बताएको छ ।
"ढिला गर्नु घातक हुन्छ। लागु गर्न एक वर्ष ढिला गर्दा हाम्रो देश महामारीबाट पुनर्जागृत भइरहेको अवस्थामा आर्थिक वृद्धिबाट ५० अर्ब अमेरिकी डलर घट्छ," सीटीआईएका प्रमुख कार्यकारी मेरिडिथ एट्वेल बेकरले गत महिना एउटा ब्लगमा लेखिकी छन् । बीबीसीबाट /तस्बिर: रोयटर्स