मलेसिया बाढीका कारण ८ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३० पटक पढिएको
मलेसिया बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । त्यहाँको राज्य समाचार एजेन्सी बर्नामाका अनुसार सेलान्गोर प्रहरीले सोमबार बाढीमा ८ जना मृत फेला परेको जानकारी दिएको हो ।
समाचार अनुसार सरकारले देशकै सबैभन्दा धनी र धेरै जनसङ्ख्या भएको क्षेत्र सेलाङ्गोरमा ठूलो बाढी आएपछि सात राज्यमा आफ्नो सेना र अन्य सुरक्षा निकाय परिचालन गरेको छ ।
मलेसियाको पूर्वी तटमा अक्टोबर र मार्चको बीचमा वार्षिक मनसुनको मौसममा बाढी आउनु सामान्य कुरा भए पनि शुक्रबारदेखि सुरु भएको भारी वर्षाले देशभरका आपतकालीन सेवाहरूमा तनाव सिर्जना गरेको छ । सोमबार सम्ममा देशभरबाट विस्थापित हुनेको संख्या ५१ हजार पुगेको छ । आधिकारिक तथ्याङ्कका अनुसार, सबैभन्दा बढी प्रभावित क्षेत्र पहाङको पूर्वी राज्य हो, जहाँ लगभग ३२ हजार मानिसहरु विस्थापित भएका छन् ।
तर राज्यका धेरै भागहरूमा सञ्चार लाइनहरू काटिएकाले अझै कतिलाई उद्धार गर्न बाँकी छ भन्ने स्पष्ट हुन नसकेको अल्जजिराले जनाएको छ ।
प्रधानमन्त्री इस्माइल साबरी याकोबले सोमबार एक विज्ञप्ति जारि गर्दै बाढी प्रभावितहरूलाई मद्दत गर्न सबै एजेन्सीहरूलाई आदेश दिएको बताएका छन् । सरकारले आफ्नो उद्धार प्रयासलाई लिएर जनता र विपक्षी सांसदहरूबाट आलोचनाको सामना गरिरहेका छन् । तस्बिर : रोयटर्स