न्यूजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा खुला गर्ने योजना फेब्रुअरीसम्म धकेलियो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२६ पटक पढिएको

 

न्युजिल्याण्डले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय सीमा खुला गर्ने को योजना पर सारेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मंगलबार न्युजिल्याण्डले विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको भन्दै पुन: अन्तर्राष्ट्रिय सीमा खुला गर्ने योजना पछाडी धकेलिएको जानकारी गराएको हो ।

शिक्षामन्त्री क्रिस हिपकिन्सले प्रेस सम्मेलनमार्फत जनवरी १६ देखि विदेशमा रहेका नागरिकका लागि सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको बताएका छन् । उनले भने, ‘हालसम्म प्राप्त तथ्यहरूले कोभिड-१९का भेरियन्टमध्ये ओमिक्रोन सबैभन्दा संक्रामक भएको देखाउँछन्’ ।

न्यूजील्याण्डले क्वारेन्टाइनमा बस्ने अवधि पनि एक हप्ताबाट १० दिनमा बढाइने जनाएको छ । न्यूजील्याण्ड प्रवेश गर्न पूर्व  आवश्यक परीक्षण पनि अघि ७२ घण्टा रहेकोमा अहिले ४८ घण्टा पुर्याइएको छ ।

अल्जजिराको अनुसार पछिल्लो समय न्यूजिल्याण्डमा कोभिड महामारीपछि लागू गरिएका कडा नियमलाई बिस्तारै खुलुलो पार्न थालिएको थियो । विदेशी पर्यटकलाई अप्रिलदेखि प्रवेश गर्न दिइएको थियो भने आगामी जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा बिस्तारै खुला गर्ने सरकारको योजना थियो । तर नयाँ ओमिक्रोन भेरियन्ट विश्वव्यापी बन्‍न थालेपछि उक्त योजना एक महिना पर धकेलिएको हो । 

पछिल्लो समय इरानमा समेत ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेसँगै हालसम्म ९० मुलुकमा यो भेरियन्ट फैलिएको छ । 

यस अघि ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन कोभिडविरुद्धका खोपहरू सक्षम भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाईसकेको छ । ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ । तस्बिर: अल्जजिरा 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित